Thursday, 11 April 2019

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू
वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न नसकेर खाडीको लाहुरे भयो भन्ने गरिन्छ | तर नेपालमा नपाएको अवसर पाएकाहरुले खाडीमा पनि ठूला प्रगति गरेका छन् र गर्छन् पनि | अन्य दक्षिण एसियाली राष्ट्रहरूसँग प्रतिस्पर्धी भएर उभिएका छन् | कतिले विदेशमै आएर सिकेर व्यापार-व्यवसाय पनि अँगाल्दै आएका छन् | त्योपनि धेरै राम्रो कुरा हो | हामी जे जसरी विदेश आएका भए पनि यहाँ आइ सकेपछि पनि अगाडी बढ्ने प्रशस्त बाटाहरू छन् | प्रगति गर्नका लागि तपाइलाई कसैले रोक्दैन सिवाय तपाई आफैले | तर कसरी अघि बढ्ने ? आउनुहोस् मेरो छोटो वैदेशिक रोजगारी, अध्ययन र अनुभवबाट मैले खाडीको जागिरमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई १२ वटा बुँदामा तल प्रस्तुत गरेको छु |यी उपायहरूको कार्यान्वयनले तपाइको जीवनमा परिवर्तन ल्याउन सक्छ |

१. कामप्रति लगनशील हुने र दक्षता हासिल गर्ने |
हामी काम गर्नका लागि विदेश आएका हौं | काम त गर्ने पर्छ | बसेर खान कहीँ पनि पाइँदैन | न त पैसा बोटमै फल्छ | यहाँ सम्म आइ पुग्दा तपाइलाई यति कुरा अवश्य पनि थाहा भई सके कै हुनुपर्छ | त्यसैले काममा ध्यान दिएर लगनशील भएर काम गर्नाले हाम्रो कामको मुल्यांकन हुन्छ | त्यति मात्र कहाँ हो र त्यस काममा तपाई दक्ष हुनु हुन्छ | दक्ष हुनु भनेको प्रमोसनको लागि दाबेदार हुनु हो | चिन्ता न लिनु तपाइको नम्बर चाडै आउनेछ | हरेस नखानुस्, राम्रोसँग काम गर्न नछोडनुस् |

२. नयाँ तरिकाले नियमित काम गर्ने |
एउटै काम २ जनाले गर्दा पनि फरक- फरक तरिकाले र छिटो ढिलो हुने हुँदा नियमित तथा सजिलो माध्यमबाट काम गर्न प्रयास गर्नुहोस्। हरेक मानिसले उस्तै काम हरेक दिन गर्छन् तर त्यही काम नयाँ ढंगले काम गर्ने हो भने काम गर्न सजिलो तथा छिटो हुन्छ | कम समयमा बढी काम, अनि बढी हाल्छ नि तपाईंको दाम | ३. अध्ययन, अनुसन्धान र खोज जारी राख्ने | अध्ययन गर्न नछोडनुस् | हरेक काममा किन र कसरी भनेर मेनेजर वा सुपरभईजरलाई प्रश्न गर्नुस् | सम्पूर्ण उत्तर जाने पछि तपाई आफै सुपरभईजर वा मेनेजर हुन सक्नुहुनेछ | एक जनाबाट मात्र सिक्ने हैन धेरै जनाबाट सिकेर अलग-अलग दृष्टिकोणबाट जाँच पडताल गर्नुस् | अनि तपाई आफै विशेषज्ञ बन्दै जानु हुनेछ |

४. कम्पनीबाट दिइने हरेक तालिम लिने ||
पढ्न छोडेको धेरै भो भनेर निराश नहुनुस् | कम्पनीले तपाइलाई पुनर्ताजगी तथा कार्य सहजताको लागि विभिन्न प्रकारका तालिम दिने गर्दछ | कुनै पनि तालिम नछुटाउनुस् | सिक्दै जानुस्, गर्दै जानुस् | तपाइले एक दिन सिकेरै छोड्नु हुन्छ |

५. अंग्रेजी र अरबी भाषा (अरबमा) सिक्ने |
तपाई अरबमा हुनुहुन्छ भने अरबी सिक्नुस् | सोया-सोया (बिस्तारै-बिस्तारै) सिकी हाल्नु हुनेछ | भनिन्छ नि “यदि तपाई रोममा हुनु हुन्छ भने रोमनले झैँ गर्नुस्” त्यसरी नै तपाई गल्फ क्षेत्रमा वा अरबी भाषा बोल्ने छेत्रमा हुनु हुन्छ भने अलि-अलि गरेर सिकी हाल्नुस् | यसका साथै अंग्रेजी सिक्न ज्यान दिनुस् | बोलीचाली मात्रै सिके पनि फाइदै हुन्छ | लेख्न पढ्न सिके जीवन परिवर्तन हुने निश्चित छ | समय लाग्ला तर असम्भव भने केही छैन |

६. प्राविधिक सीप सिक्न कोशिस गर्ने |
धेरै मानिस प्राविधिक कुरा सिक्न डराउँछन्, हिचकिचाउँछन् | त्यस्तो नगर्नू किनकी "सीप नै शक्ति हो" | मौका मिले सम्म सुरु गरि हाल्नुस् | मौका फेरी-फेरी आउँदैन | मेसिनरी चीज चलाउन सिक्नुस् | तपाइको आफ्नो काम सम्बन्धी मेशिन चलाउनाले तपाई खास व्यक्ति बन्नु हुनेछ त्यो कम्पनीमा | कम्पनी डुब्ने भए पनि टेक्निकल कर्मचारीलाई चाँडो निकाल्दैनन् | तपाइको जागिर सदाको लागि स्थाई जागिर बन्न सक्दछ भने प्राविधिकको लागि पारिश्रमिक पनि बढी मिल्नेछ |

७. लाइन मेनेजरलाई खुशी राख्ने |
लाइन मेनेजर भनेको तपाइको बोस(BOSS), तपाइको हाकिम | तपाइको सरुवा-बढुवामा उसैको हात हुन्छ | दण्ड-सजाय वा पुरस्कारमा पनि उसै को हात हुने हुँदा तपाइको माइ-बाप लाइन मेनेजर नै हो | उसलाई आफ्नो काम, इमान्दारिता र नियमितताबाट खुसी पार्नुस्, प्रमोसन पाउनुस् |

८. व्यक्तिगत सरसफाइ र सुरक्षामा ध्यान दिने |
हमेसा आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस् | साधारण कुरा मा बढी ध्यान दिनुहोस् जस्तै- कपाल चिटिक्क पारेर मासिक रूपमा काट्ने, नङ काट्ने, दारी लामो नराख्ने, लामो कपाल नपाल्ने, हरेक दिन नुहाउने, लुगा धुने अनि दाँत माझ्ने | हेर्दा सामान्य देखिए पनि यी कुराहरूले महत्व राख्दछन् | जहाँ पायो त्यही धूम्रपान नगर्ने,गर्ने परे कुल्ला गरेर आउने | सामान्य खाले सेन्टको प्रयोग गर्ने |

९. कम्पनीका नियम कानुनको पालना गर्ने |
हरेक कम्पनीका आ-आफ्नै नियम-कानुन हुन्छन् | ती कम्पनीमा काम गरिन्जेल ती कम्पनीका नियम-कानुनको दायरामा रही कार्य गर्नु पर्दछ | कम्पनीको विरुद्धमा कुरा गर्नु वा काम गर्नु भनेको आफूले खाने थालमा दुलो पार्नु जस्तै हो |राम्रो नियम पालन गर्नेले नै पुरस्कार तथा प्रमोसन पाउँछ |

१०. पारिवारिक सम्बन्धलाई सुमधुर राख्ने |
तपाई विदेशमा भएपनि घरमा आफ्ना परिवारलाई माया गर्न नभुल्नूस | समय-समयमा फोन गरेर ताजा जानकारी लिनु राम्रो हुन्छ | तर विदेश आएर केही पैसा हुने बित्तिकै घन्टौ सम्म फोन गर्नेले प्रगति गर्न सक्दैन | पैसा बचत नगर्ने भए विदेश आएको मतलब नै के भयो र | ड्युटीमा धेरै फोन गर्नाले तपाइको जागिर पनि चट हुन पनि सक्छ |

११. फेसबुक तथा सामाजिक सञ्जाल |
फेसबुक, स्काईप, भाइबर लगायतका सामाजिक सञ्जाल तथा संचारका साधनहरू सम्बेदनशील भएर प्रयोग गर्ने | आफ्ना पोस्ट, कमेन्ट, र आफूले शेयर गरेका कुराले अरूलाई कस्तो असर गर्ला भन्ने कुराको हेक्का राख्ने | अतिरञ्जित हुने घटनालाई पोस्ट तथा शेयर नगर्ने | आफू पनि नबिग्रिने र अरूका परिवारलाई पनि नबिगार्ने गरि व्यवहार गर्नु होस् | आफ्नो कम्पनीको बारेमा टीका-टिप्पणी नगर्नू नै बेस किनकी तपाइको मेनेजर लगायत सबैले तपाइको पोस्ट पढ्ने छन् यसले तपाइको करियरलाई धक्का लाग्न सक्छ |

१२. सधैँ सकारात्मक सोच्ने |
सधैँ सकारात्मक सोच्नु होस् | म गर्न सक्छु, गरेर देखाइ दिन्छु भन्ने सोच्नुहोस् | मेहनत गर्नुहोस् अनि जीवन राम्रो बनाउने आशा गर्नुहोस् | आशा नभए जीवनको अर्थ रहँदैन, जोश हराउँछ अनि प्रगति गर्न पनि सकिँदैन | त्यसैले आशावादी भएर जीवनको अर्थ खोज्नु पर्छ | तपाईंको आमा-बुबा, परिवार, आफन्त र साथी-सँगीहरू पनि तपाइको प्रगति र सफलताको प्रतिक्षामा हुनुहुन्छ |

⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇⬇
https://www.facebook.com/DXN-Bimal-Tamang-190680511687140/

DXN CHANGE MY LIFE

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू

खाडीको जागिरमा सफलता प्राप्त गर्ने १२ उपायहरू वैदेशिक रोजगारीको सिलसिलामा खाडी तिर जानु लाई असफलताको प्रतीक मानिन्छ | नेपालमै केही गर्न ...